अस्पतालमा उपकरण छैन
अस्पतालमा उपकरण छैन
वैशाख ११, २०७६ कान्तिपुर संवाददाता
चितवन — बाहिरबाट हेर्दा भवन भव्य नै छ । भित्र पनि कुर्ची टेबुल र बेडहरू राखिएका छन् । कोठाकोठामा युनिटको नाम पनि लेखिएको छ । पृथ्वी राजमार्गको आडैमा कुरिनटार सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम शिक्षालयभित्र बनेको ट्रमा अस्पतालको हालत देखे जस्तो सुन्दर भने छैन । अमेरिकी दूतावासको सहयोगमा अस्पतालको भवन तयार भएको लामो समय भए पनि भित्र कुनै उपकरण छैनन् ।
कुनै उपकरण नै नभएपछि
अस्पताल सञ्चालनमा छैन । दूतावासले अघिल्लो वर्षको अगस्टमा भवन हस्तान्तरण
गरेको हो । ‘भवन र शय्याहरू छन् । यो अस्पताल २५
शय्याको क्षमताको हो । तर उपकरणहरू केही छैनन् । त्यसैले
हस्तान्तरण भएको एक वर्ष हुन लाग्दा पनि सेवा सुरु गर्न सएिको छैन,’ तालिम शिक्षालयका प्रमुख रहेका सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक
(एसएसपी) किशोर प्रधानले भने ।
पृथ्वीराजमार्ग र नारायणगढ मुग्लिन
सडक खण्ड दुर्घटना धेरै हुने सडक हो । दुर्घटनाका
घाइतेलाई कम्तीमा एक घण्टा परको भरतपुर
र चार घण्टा टाढाको पोखरा वा
काठमाडौं लगेर उपचार गर्नुपर्ने बाध्यता
छ । सामान्य घाइतेको उपचार पनि राजमार्ग क्षेत्रमा
हुन सकेको छैन । चोट लागेको ठाउँबाट बगेको रगत नरोकिँदा घाइतेको ज्यानै जाने
गरेको दुःखद अवस्था पनि छ ।
‘यस्तो अवस्था नहोस्, दुर्घटनाका घाइतेको
महत्त्वपूर्ण उपचार यही हुन सकोस् । ठूला र जटिल
खालका शल्यक्रियाबाहेकका सेवा दिन
सकियोस् भनेर ट्रमा अस्पताल बनाएको हो,’
एसएसपी प्रधानले भने । सशस्त्र प्रहरीको काठमाडौंमा आफ्नै अस्पताल पनि छ । उपकरणहरू भए चिकित्सक र अन्य प्राविधिकहरूको प्रवन्ध सशस्त्र
प्रहरीले नै गर्न सक्छ । तर उपकरण किन्ने र सञ्चालन गर्ने खर्चको व्यवस्था अझै हुन सकेको छैन ।‘यो विषयमा हामीले हाम्रो विभागमा लेखेर पठाएका पनि छौं । केही न
केही उपाए लाग्ला,’ एसएसपी प्रधानले भने । गाउँपालिकासँग मिलेर अस्पताल सञ्चालन गर्ने विषयमा
पनि कुरा अगाडि बढेको छ । ‘हरेक स्थानीय तहमा कम्तीमा १५ शय्याको अस्पताल
राख्ने भन्ने नीति छ । यहाँ २५ शय्याको अस्पताल भवन बने पनि उपकरण अभावमा
चलाउन सकेका छैनौं । यसलाई के कसरी हुन्छ चलाउँछौं,’
इच्छाकामाना गाउँपालिका अध्यक्ष गीता
गुरुङले भनिन् ।
गाउँपालिकाले अस्पताल चलाउन एक
करोड रुपैयाँको जोहो गर्न लागेको उनले बताइन् । ‘हालै मात्र चितवन–२ का सांसद कृष्णभक्त पोखरेल र चितवन जिल्ला समन्वय समितिका अध्यक्ष कृष्ण डल्लाकोटीले अस्पतालको भवन हेर्नुभएको छ । यसलाई चलाउनका
लागि वातावरण बनाउन मैले भनेकी छु । जिल्ला समन्वयले ५० लाख दिए हामीले पनि ५० लाख रुपैयाँ
जुटाएर अस्पताल चलाउने थियौं,’ अध्यक्ष गुरुङले योजना
सुनाइन् ।
प्रकाशित : वैशाख ११, २०७६ ०९:०९