विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल

काठमाडौं माघ १३ गते धादिङको रुबीभ्याली गाउँपालिका–४, हिन्दुङमा २ गोठालसहित २ सय ६० भेडाबाख्रा पहिरोमा पुरिए।

गोठाला जाँदा लगातारको हिमपातपछि हिन्दुङका ४५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ ओढारमा बसेका थिए। ओढारमाथिबाट ठूलाठूला चट्टान खसेर पुरिएपछि सशस्त्र प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा उद्दारका लागि टोली परिचालन भयो। पाँच दिनको अथक प्रयासपछि दुई गोठालाको शव निकाल्न सशस्त्र प्रहरी सफल भयो। पहिरोमा पुरिएकामध्ये ४ भेडा भने जिवितै भेटिए।

– साउन १८ गते सोलुखुम्बुको खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत खुम्बु पासाङल्हामु गाउँपालिका–४ का पेम्बा दोर्जे शेर्पा, पेम्बा नुर्बु शेर्पा र खुम्बु पासाङल्हामु गाउँपालिका–५ का सुनील बराइली गोक्यो तालमा पौडी खेल्ने क्रममा बेपत्ता भए।

सशस्त्रको विपद् व्यवस्थापन तालिम विद्यालय कुरिनटारको गोताखोर टोली उद्दारमा खटिएको थियो। उक्त टोलीले तीन विद्यार्थीमध्ये एक विद्यार्थीको शव निकाल्न सफल भएको थियो। दुईको शव अझै फेला पर्न सकेको छैन। उच्च हिमाली क्षेत्र, गहिरो ताल, माइनस तापक्रम र सिमित स्रोत र साधनका कारण गोक्यो तालमा हराएका २ विद्यार्थीको शव अझै निकाल्न नसकिएको हाे।

‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ मुल मन्त्र बोकेको सशस्त्र प्रहरी बलले विपदमा उद्दार गरेका यी दुई घटना प्रतिनिधिमुलक मात्रै हुन्। छोटै समयमा सशस्त्र प्रहरीले विपद् व्यवस्थापनमा पनि महत्तपूर्ण योगदान गर्दै आएको छ। नेपालमा नै पहिलो विपद् व्यवस्थापन तालिम विद्यालय कुरिनटारमा खोलेर दक्ष जनशक्ति उत्पादन गर्दै सशस्त्र प्रहरीले विपद् व्यवस्थापनमा काम गर्दै आइरहेको छ।

हिमाली तथा पहाडी क्षेत्रमा जाने हिमपहिराे तथा सुख्खा पहिरो, तराईको बाढी, भूकम्प, सवारी दुर्घटना, आगलागी जस्ता विपद्‍मा सशस्त्र प्रहरी खटिँदै आएको छ। विपद् व्यवस्थापन तालिम केन्द्रबाट प्रशिक्षित दक्ष जनशक्तिलाई खोज, उद्दारमा खटाइँदै आएकाे छ।

सशस्त्र प्रहरीसँग ७ प्रदेशमा ७ वटा र काठमाडौंमा थप १ वटा गरी ८ वटा कार्यालयमा विपद् व्यवस्थापन टिम छ। सुदूरपश्चिम प्रदेशको अत्तरियामा, कर्णाली प्रदेशको सुर्खेतमा, ५ नम्बर प्रदेशको बाँकेमा, गण्डकी प्रदेशकाे पोखरामा, ३ नम्बर प्रदेशको चितवनमा, २ नम्बर प्रदेशको पथलैया, १ नम्बर प्रदेशको सुनसरी पकली र काठमाडौंमा गरी ८ वटा विपद् व्यवस्थापन टिम छन्। हरेक टिमा ५० जना सशस्त्र प्रहरी बलका तालिम प्राप्त कर्मचारी छन्। घटना भएको जानकारी प्राप्त हुनासाथ उक्त टिम परिचालन हुँदै आएको छ। यीनै उद्दार टिममार्फत ठूलो संख्यामा उद्दारकार्य गरिसकेको छ।

१ लाख २१ हजारभन्दा बढीको उद्दार

सन् २०१५ मा उद्दार गरिएका व्यक्तिको संख्या बढेर ४२ हजार ८ सय ११ पुगेको थियो। त्यसबेला सबैभन्दा बढी भूकम्पमा २२ हजार जनाको उद्दार गरिएको थियो। त्यस्तै, आगलागीमा ९ हजार ४ सय ६५, सवारी दुर्घटनामा ८ हजार ६ सय ९२, बाढी पहिरोमा २ हजार ६ सय ५४ जनाको उद्दार गरिएको थियो।

सन् २०१६ मा ११ हजार ५ सय ३१ जनालाई सशस्त्र प्रहरी बलले उद्दार गरेको थियो। आगलागीमा २ हजार ३ सय २८, सडक दुर्घटनामा ५ हजार ६ सय १, बाढी पहिरोमा ३ हजार ५ सय ४६ र अन्यमा ५६ जनाको उद्दार भएको थियो।

सशस्त्र प्रहरी बलेको प्रधान कार्यालयका अनुसार सन् २०१७ मा २२ हजार ४ सय २० जनाको उद्दार गरिएको थियो। त्यसबेला आगलागीमा ५ हजार ६ सय ८० जना, सडक दुर्घटनामा ११ हजार ७ सय ३२, बाढी पहिरोमा ४ हजार ९ सय ६२ र अन्यमा ४६ जनाको उद्दार भएको थियो।

जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पर्दै गएको प्रभाव र यसबाट भविष्यमा हुन सक्ने प्राकृतिक प्रकोपको चुनौति, प्राकृतिक प्रकोपमा हुने मानवीय र भौतिक क्षति, खोज तथा उद्दारका बारेमा जानकारी गराइएको थियो।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापनमा विद्यालयलाई अझ मजबुत बनाउन भविष्यमा विज्ञहरुबाट थप प्रशिक्षण गर्दै विपद् व्यवस्थापन विद्यालयलाई अझै बढी स्रोत साधन जुटाउन आफूहरु हरबखत लागि परिरहेको सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक कीशोर प्रधानले बताएका थिए।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन विद्यालयलाई समयमा नै सरकारले थप स्रोत साधनको व्यस्था गरेर यसको क्षमता अभिवृद्धि गर्नुपर्ने र यसबाट कुनै विपद् आइपरे समयमा नै दक्ष जनशक्ति खोज, उद्दारमा छिटो मुलुकभित्र खटाउन सकिने कुरा आतंकवाद विज्ञ नारायण अधिकारीले धारणा राखेका थिए।

सशस्त्रसँग भएका उद्दार सामाग्री अझै पर्याप्त नभएको सहभागीहरुकाे भनाइ थियाे। सशस्त्र प्रहरी बलसँग वाटर सर्च एन्ड रेस्क्यू, डिप वाटर डाइभिङ सुट, र्‍यापिलिङ एन्ड क्लाइम्बिङ, फायर फाइटर, जनेरल सर्च एन्ड रेस्क्यू, डेड बडी म्यानेजमेन्ट लगायतका उपकरण मात्रै छन्। तर, यी उपकरणले मात्रै उद्दार पर्याप्त नहुने बताइएको छ।

  नेपाल लाईफ पत्रिकामा प्रकाशित 

२o७५ फागुन १२ आइतबार| प्रकाशित १२:१९:oo











Updates

Related Links