बजाङ्गको कालङ्गा हाईड्रो पावरमा ४ जनाको शव निकालिएको

 बझाङ जिल्लाको बुङ्गल नगरपालिका १ दारिमगार्डमा कालङ्गा हाईड्रो पावरको निर्माणाधिन सुरुङभित्र फसेका ४ (चारै) जनाको शव सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिरनटारबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक भवराज कटवाल सहितको एपीएफ टोलीले सो सुरुङबाट बाहिर निकालेको छ । सुरुङमा फँसेर ज्यान गुमाउनेमा दैलेखको गुराँस गाउँपालिका ३ का कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, अछाम तुर्माखाँद गाउँपालिका ६ का महेन्द्र साउद र बझाङ बुंगल नगरपालिका १ का शेरसिंह धामी छन् ।  चार जनाको शव सहित सुरुङ निर्माणमा प्रयोग भएको एउटा बलेरो गाडी र दुई वटा ट्रयाक्टर APF टोली द्वारा सुरुङ्गबाट बाहिर निकाली सकिएको छ ।  उनीहरू सबैको मृत्यु अक्सिजनको कमीले निसास्सिएर भएको अनुमान गरिएको छ । उनीहरू सबै सुरुङ्गको विभिन्न स्थानमा फेला परेका थिए । लगत्तै घटनास्थलमा पुगेका प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीय बासिन्दाले उद्धारको प्रयास गरे पनि सुरुङ भित्र ठुलो मात्रामा पानी जमेको¸ अकसिजनको मात्रा कम रही अन्य ग्यास रहेको कठिन अवस्था  रहेकोले उद्धार प्रयास सफल नभएपछि सोमबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिरनटारबाट उद्धार टोली मगाइएको थियो ।  उक्त ४ जना व्यक्तिहरु मिति 2076/07/17 गते आईतबार  सुरुङ निर्माणमा प्रयोग भएको एउटा बलेरो गाडी र दुई वटा ट्रयाक्टरसहित निर्माणाधिन उक्त सुरुङभित्र काम गर्ने क्रममा फसेका थिए । उक्त सुरुङमा केही व्यक्तिहरु फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त दक्ष टोली आवश्यक उद्धार सामाग्रीसहित समिट एयरको हेलिकप्टरद्वारा त्यसठाउँमा उद्धार कार्यको लागि खटिई गएको थियो ।





Updates

Related Links