उद्धारमा क्यामेरादेखि कुकुरसम्म

चितवन — दुर्घटना वा विपद्का बेलामा खोजी र उद्धारका लागि दर्गुने सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्रका उद्धारकर्ताहरूले ‘शर्मा’ लाई सँगै लैजान प्रायः छुट्टयाउँदैनन् ।शर्मा कुनै व्यक्ति नभएर खोजका लागि विशेष तालिम पाएको कुकुर हो । केन्द्रमा यस्ता तालिम प्राप्त पाँच कुकुर छन् । अर्को एउटाले तालिम लिँदै छ । त्यस्तै मान्छेका आँखा नपुग्ने ठाउँमा उद्धारका बेला हेर्नका लागि विशेष खालका क्यामेराहरू प्रयोग हुन थालेको छ ।
कुकुरले सुँघेर विस्फोटक पदार्थ, लागूपदार्थ र आपराधिक समूह पत्ता लगाउन प्रहरीलाई सहयोग गर्दै आएको हो । ‘यसका साथै विपदका बेलामा पुरिएर रहेका लास पत्ता लगाउन र ज्युँदै मान्छे खोज्न पनि कुकुरले सहयोग गर्न थालेको छ,’ चितवनको कुरिनटारमा रहेको केन्द्रका प्रमुख रहेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किशोर प्रधानले भने ।
सशस्त्रका एसएसपी प्रधानका अनुसार भूकम्पका बेलासमेत कुकुरहरू उद्धारमा प्रयोग भएका थिए । कुरिनटारमा प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा १० जनाको टोलीले कुकुरहरूका लागि तालिम र अन्य काम तालिकाअनुसार गर्छ ।
‘पहिरो र दुर्घटनाका समयमा पनि हामी कुकुर लिएर जान्छौं । अन्य अपराध अनुसन्धानमा पनि यी कुकुरहरूको प्रयोग हुन्छ,’ एसएसपी प्रधानले भने । कुरिनटारका साथै ‘डगस्वकाड’ काठमाडौंमा पनि छ ।
कुकुरले जसरी नयाँ खालका क्यामेराले पनि प्रहरीलाई उद्धारमा सहयोग पुर्‍याएको छ । कुरिनटारको सशस्त्र प्रहरी केन्द्रमा पानीभित्र हेर्न मिल्ने क्यामेरा सोनार यो साता मात्रै आएको छ । ‘यो क्यामेरा हामी केबलमा जोडेर पानीभित्र पठाउँछौं । सोनारले पानीभित्रका दृश्य पठाउँछ । जुन हामीले बाहिरै बसेर मनिटरमा हेर्न सक्छौं,’ केन्द्रका प्रहरी निरीक्षक लक्ष्मण बस्नेतले भने ।
नदी, खोला, ताल र पोखरीमा हुने खोजी र उद्धारमा सोनार उपयोगी हुने उनले बताए । पानीभित्र ४० मिटरसम्मको दृश्य यसले पठाउँछ । त्योभन्दा तल हेर्न परे थप केबलहरू जोड्न सकिन्छ । सशस्त्रसँग पानीमा डुबेर उद्धार गर्ने गोताखोरहरू छन् । तर उनीहरूले मात्रै सबै कुरा भेउ पाउन गाह्रो छ । नदी नजिकैका सडकमा दुर्घटना हुँदा यात्रु र गाडी नै बेपत्ता हुने गर्छन् । सोनारले यो समस्या हटाउन मद्दत गर्ने उनले बताए ।
पानीमा मात्रै हैन पुरिएका ठूला संरचनाहरूमा मान्छे जान नसके पनि भित्रको अवस्था हेर्न सशस्त्र प्रहरीले विशेष क्यामेराहरू ल्याएको छ । त्यसमध्ये र्‍याकनले भत्केका घरभित्र मान्छे वा जीवहरू भए नभएको हेर्न सहयोग गरेको छ ।
‘भुइँचालो वा पहिरोजस्ता विपद्का बेलामा घरहरू भत्केका हुन्छन् । त्यहाँभित्र मान्छे छ वा छैन भनेर हेर्नका लागि हामीले र्‍याकन उपयोग गर्दछौं,’ सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बस्नेतले भने । र्‍याकन भित्तो वा छत थोरै फोडेरभित्र छिराइन्छ । मान्छे नै भित्र पस्नु पर्दैन ।
यसले दृश्य मात्रै देखाउने हैन मान्छेले श्वास फेरेको छ भने पनि सुनाउने प्रहरी निरीक्षक बस्नेतले बताए । ‘भित्र केही हलचल छ । सामान्य श्वास मात्रै फेरेको छ भने र्‍याकनले हामीलाई त्यसको १० गुणा ठूलो आवाज दिन्छ । लामो रडको टुप्पोमा भएको क्यामेरा जता पनि घुम्न सक्छ ।
त्यसैले यसले हामीलाई खोजेको ठाउँको दृश्य र आवाज दिन्छ,’ बस्नेतले भने । यस्तै अर्को क्यामेरा बोरेक्सकोप छ । यसलाई ‘स्नेक आई’ भनिन्छ । मसिनो केबलको टुप्पामा हुने क्यामेरा चाहेको दिशामा घुमाउन सकिन्छ ।
‘र्‍याकनलाई छिराउनुपर्नेभन्दा पनि सानो कान्छी औंला जत्रो प्वालबाट यो क्यामेरा भित्र छिराउन सकिन्छ । भत्केका घरहरूको उद्धारमा मात्रै नभएर गाडी दुर्घटनापछिको उद्धारमा यसलाई प्रयोग गर्न थालेका छौं,’ बस्नेतले भने ।
संरचनाहरू नभत्के पनि मान्छे गइहाल्न नमिल्ने ठाउँहरूमा बोरेक्सकोप छिराएर भित्रको अवस्था हेर्न सकिने उनले बताए । ‘यो अपराध अनुसन्धानमा पनि प्रयोग हुन सक्छ । कोही भित्र लुकेको पो छ कि, घरभित्र कुनै खतारनाक वस्तुहरू लुकाएको छ कि भनेर हेर्नुपर्दा कोठा नै फुटाउनुपरेन कुनै सानो प्वालबाट छिराएर हेर्न मिल्यो,’ प्रहरी निरीक्षक बस्नेतले भने ।
नेपालमा जुन खालको प्राकृतिक विपद र दुर्घटनाको अवस्था छ त्यसले उद्धारमा बढीभन्दा बढी आधुनिक उपकरणहरू प्रयोग गर्नुपर्ने अवस्था रहेको एसएसपी प्रधान बताउँछन् । अहिले भएका उपकरणहरू पनि पर्याप्त छैनन् ।

प्रकाशित : चैत्र ८, २०७५ १०:४०
चैत्र ८, २०७५  रमेशकुमार पौडेल
कान्तिकपुरमा प्रदेश-3 बाट प्रकाशित


Updates

Related Links