अस्पतालमा उपकरण छैन

प्रदेश ३

अस्पतालमा उपकरण छैन

वैशाख ११, २०७६  कान्तिपुर संवाददाता

चितवन — बाहिरबाट हेर्दा भवन भव्य नै छ । भित्र पनि कुर्ची टेबुल र बेडहरू राखिएका छन् । कोठाकोठामा युनिटको नाम पनि लेखिएको छ । पृथ्वी राजमार्गको आडैमा कुरिनटार सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम शिक्षालयभित्र बनेको ट्रमा अस्पतालको हालत देखे जस्तो सुन्दर भने छैन । अमेरिकी दूतावासको सहयोगमा अस्पतालको भवन तयार भएको लामो समय भए पनि भित्र कुनै उपकरण छैनन् ।

कुनै उपकरण नै नभएपछि अस्पताल सञ्चालनमा छैन । दूतावासले अघिल्लो वर्षको अगस्टमा भवन हस्तान्तरण गरेको हो । ‘भवन र शय्याहरू छन् । यो अस्पताल २५ शय्याको क्षमताको हो । तर उपकरणहरू केही छैनन् । त्यसैले हस्तान्तरण भएको एक वर्ष हुन लाग्दा पनि सेवा सुरु गर्न सएिको छैन,’ तालिम शिक्षालयका प्रमुख रहेका सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक
(
एसएसपी) किशोर प्रधानले भने ।

पृथ्वीराजमार्ग र नारायणगढ मुग्लिन सडक खण्ड दुर्घटना धेरै हुने सडक हो । दुर्घटनाका घाइतेलाई कम्तीमा एक घण्टा परको भरतपुर र चार घण्टा टाढाको पोखरा वा काठमाडौं लगेर उपचार गर्नुपर्ने बाध्यता छ । सामान्य घाइतेको उपचार पनि राजमार्ग क्षेत्रमा हुन सकेको छैन । चोट लागेको ठाउँबाट बगेको रगत नरोकिँदा घाइतेको ज्यानै जाने गरेको दुःखद अवस्था पनि छ ।

यस्तो अवस्था नहोस्, दुर्घटनाका घाइतेको महत्त्वपूर्ण उपचार यही हुन सकोस् । ठूला र जटिल खालका शल्यक्रियाबाहेकका सेवा दिन सकियोस् भनेर ट्रमा अस्पताल बनाएको हो,’ एसएसपी प्रधानले भने । सशस्त्र प्रहरीको काठमाडौंमा आफ्नै अस्पताल पनि छ । उपकरणहरू भए चिकित्सक र अन्य प्राविधिकहरूको प्रवन्ध सशस्त्र प्रहरीले नै गर्न सक्छ । तर उपकरण किन्ने र सञ्चालन गर्ने खर्चको व्यवस्था अझै हुन सकेको छैन ।‘यो विषयमा हामीले हाम्रो विभागमा लेखेर पठाएका पनि छौं । केही न केही उपाए लाग्ला,’ एसएसपी प्रधानले भने । गाउँपालिकासँग मिलेर अस्पताल सञ्चालन गर्ने विषयमा पनि कुरा अगाडि बढेको छ । ‘हरेक स्थानीय तहमा कम्तीमा १५ शय्याको अस्पताल राख्ने भन्ने नीति छ । यहाँ २५ शय्याको अस्पताल भवन बने पनि उपकरण अभावमा चलाउन सकेका छैनौं । यसलाई के कसरी हुन्छ चलाउँछौं,’ इच्छाकामाना गाउँपालिका अध्यक्ष गीता गुरुङले भनिन् ।

गाउँपालिकाले अस्पताल चलाउन एक करोड रुपैयाँको जोहो गर्न लागेको उनले बताइन् । ‘हालै मात्र चितवन–२ का सांसद कृष्णभक्त पोखरेल र चितवन जिल्ला समन्वय समितिका अध्यक्ष कृष्ण डल्लाकोटीले अस्पतालको भवन हेर्नुभएको छ । यसलाई चलाउनका लागि वातावरण बनाउन मैले भनेकी छु । जिल्ला समन्वयले ५० लाख दिए हामीले पनि ५० लाख रुपैयाँ जुटाएर अस्पताल चलाउने थियौं,’ अध्यक्ष गुरुङले योजना सुनाइन् ।

प्रकाशित : वैशाख ११, २०७६ ०९:०९

 





Updates

Related Links